पोखरा-जोमसोम हवाई उडान दुई महिना बन्द हुने

राष्ट्रपाटी न्युज

असार १२, २०८२

मुस्ताङ । बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको संख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन्।

उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले जानकारी दिए। उनका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ।

“हवाई यात्रु कम भएको र मौसम प्रतिकूलताका कारण तारा एयरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम शुरू भएपछि उडान शुरू हुन्छ”, उनले भने।

समिट एयरलाइन्सले पनि उक्त रुटमा असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ। जोमसोमस्थित समिट एयरलाइन्सका स्टेसन इन्चार्ज सुमन थकालीले एक हप्तापछि दुई महिनाका लागि पोखरा-जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए।

“अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्,” उनले भने।

जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन शुरू भएसँगै हवाई यात्रुको घटेको जनाएको छ। कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा-जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केही दिनमा स्थगित गर्ने जनाएको बताए।

बर्खायाम शुरू हवाई मार्ग मात्रै होइन सडक मार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए ।


Published :असार १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media