आजको मौसमः देशका केही भूभागमा भारी वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

असार १९, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बिहीबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।


Published :असार १९, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media