बाढीपहिरोका कारण देशभर मुख्य ४ राजमार्ग पूर्ण रुपमा अवरुद्ध

राष्ट्रपाटी न्युज

साउन १०, २०८२

काठमाडौँ । बाढीपहिरोका कारण देशभर मुख्य ४ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । कर्णाली प्रदेशका मुख्य दुई मार्ग कर्णाली करिडोर र भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

हुम्लाको सिमकोट क्षेत्रमा पहिरो गएकोले कर्णाली करिडोर अवरुद्ध भएको हो । यस्तै, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-६ स्थित रिजिगारमा बाढी आउँदा भेरी करिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण संखुवासभाको भोटखैला गाउँपालिका-४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

बाढी आएपछि रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन नाका जोड्ने पुलमा जोखिम बढेको छ । जसकारण यातायात पूर्णरुपमा अवरुद्भ भएको प्रहरीले जनाएको छ ।

बिहान साढे १० बजेसम्म गरिएको अद्यावधिक तथ्यांक अनुसार काठमाडौंको टोखा-२ स्थित काठमाडौं-नुवाकोट सडक, बागलुङ र नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र रोल्पा परिवर्तन गाउँपालिका-५ ग्रामजिमस्थित सहिद राजमार्ग एकतर्फीमात्रै सञ्चालन भएका छन् ।

सबै ठाउँमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


Published :साउन १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media