सिन्धुलीबाट हराएका १६ जनाको मोबाइल लोकेसन रामेछापमा देखियो

राष्ट्रपाटी न्युज

साउन १२, २०८२
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बागेश्वरबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका थिए, जसको लोकेसन शुक्रबार राति रामेछापमा देखिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार शुक्रबार राति १० बजेर ९ मिनेटमा उनीहरू प्रयोग गरिरहेको मोबाइलको अन्तिम लोकेसन रामेछापमा देखिएको हो। त्यसपछि मोबाइल बन्द भएको र सिमकार्ड पनि प्रयोगमा नरहेको सुवेदीले बताए।

उक्त परिवार बिहीबारदेखि नै सम्पर्कविहीन थियो। गाउँलेहरूले उनीहरूलाई सोही दिनदेखि नदेखेको जनाएका छन्।

बेपत्ता भएका उर्मिला हायुको परिवारमा ७ छोरा, ५ छोरी, २ ज्वाइँ र नातिनातिनासमेत गरी १६ जना छन्। स्थानीय सरकारले हायु थरका ती परिवारलाई लोपउन्मुख जातिका रूपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको थियो। हालै मात्र उनीहरूले तीन महिनाको भत्ता रकम—जम्मा १ लाख ९२ हजार रुपैयाँ बुझेका थिए।

घरमा सामान्य आगलागीको चिन्ह देखिएको छ भने घरपालुवा जनावरहरू बाँधिएका छन्। एक भैँसी गाउँकै अर्को घर नजिकै बाँधिएको अवस्थामा भेटिएको थियो। सामान्यतया हायु परिवारका सदस्यहरू भैँसीलाई हरेक दिन घाँस पानी गर्न आउने गर्थे। तर, बिहीबारदेखि नदेखिएपछि गाउँलेले सोमबार बिहान घर पुगेर हेर्दा ढोका खुलै भएको र मान्छे कोही पनि नरहेको देखिएको थियो। त्यसपछि परिवारको खोजी सुरु गरिएको हो।

परिवारको घर एकान्त स्थानमा रहेको र नजिकैको अर्को घर पुग्न कम्तीमा १५ मिनेट लाग्ने वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिएका छन्। साथै, उनीहरूले घरमै सुँगुर काटेर खाएको प्रमाण पनि भेटिएको छ।

हाल परिवारको विस्तृत खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


Published :साउन १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media