रेशमलाई थुनाउने विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

राष्ट्रपाटी न्युज

साउन १५, २०८२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्ने आदेश उच्च अदालत पाटनबाट पनि सदर भएको छ।

जिल्ला अदालत काठमाडौँले महिमानलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्लाकै आदेश सदर गरेको हो। जेठ ५ गते जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए।

उक्त आदेशविरुद्ध रेशम र महिमान छुट्टा छुट्टै निवेदन लिएर उच्च अदालत पुगेका थिए। तर उच्चले जिल्लाको आदेश बेरितको नदेखिएको भन्दै सदर गरिदिएको हो।

विष्टले अनधिकृत रूपमा पत्र लेख्दा सोही पत्रका आधारमा प्रहरीले रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरेको थियो। तर अदालतले उक्त पत्र आधिकारिक नभएको स्पष्ट पारेपछि त्यसैदिन छाडिएको थियो।

महिमानलाई सोही पत्र लेखेका कारण लिखतसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।


Published :साउन १५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media