यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपाटी न्युज

साउन ३०, २०८२

काठमाडौँ । नेपालमा मनसुन केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेको छ। जसका कारण फलस्वरूप नेपालमा मनसुन केही कमजोर हुने देखिएको हो ।

आज दिउँसो : सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) हुने सम्भावना छ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

आज राति : कोसी प्रदेशलगायत पहाड क्षेत्रमा साधारणतया बदली रही देशका बाँकी ठाउँमा आंशिक बदली रहने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान र बाँकी पहाड तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।


Published :साउन ३०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media