आफ्नो अनुकूल समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नूस्, कारबाही हुँदैन : यातायात विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने जनाएको छ।

विभागले मंगलबार सूचना जारी गरेर सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश: जोड्दै लैजाने निर्णय भएको भए पनि असोज १ गतेदेखि जडान नगरे कारबाही नहुने जनाएको हो।

असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने विभागले उल्लेख गरेको छ।

आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वः स्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न विभागले आग्रह गरेको छ।

विभागले विभाग एवं प्रदेश कार्यालयहरूबाट जडानमा सहजताका लागि उक्त स्थानहरूमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारी धनीहरूको सहजताका लागि आवश्यकतानुसार थप प्रबन्ध समेत गर्दै लगिएको व्यहोरा जनाएको छ।


Published :भदौ १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media