आज विश्व ताल दिवस

काठमाडौँ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन लागिएकाे हाे। गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो।

राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य अन्तरराष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय संस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवं शैक्षिक अभियन्तालाई तालको महत्वबारेमा शिक्षा प्रदान गर्दै तिनको संरक्षण गर्नु यो दिवसको मुख्य उद्देश्य हो।

संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन्। तिनले विश्वको जमिनको चार प्रतिशत भाग ओगटेका छन्। प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण वातावरणीय नोक्सानिका साथै ताजा पानीका स्रोतहरू घट्दै गएको सन्दर्भमा यो दिवस मनाउनुको सान्दर्भिकता बढेको छ।

मानवका निम्ति पेयजलको आपूर्ति, कृषि र उद्योगका लागि उत्पादनको महत्त्वपूर्ण स्रोत तालहरूले जैविक विविधता कायम राख्न अनगिन्ती प्रजातिका माछा, बोटबिरुवा र वन्यजन्तुलाई जीवन दिएका छन्।

बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले तालहरू सुक्दै गएका छन्भने बरफ पग्लने क्रम पनि बढिरहेको सन्दर्भमा तालतलैयाको संरक्षणलाई महत्त्वपूर्ण मानिएको छ।


Published :भदौ ११, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media