गोंगबुबाट सबा चार करोड नगद र नौ किलो सुन बरामद

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट चार करोड २५ लाख ५० हजार नगद, नौ किलो आठ सय ३७ दशमलब ९६ ग्राम सुन र तीन किलो २१८ दशमलव ४९२ ग्राम चाँदी बरामद गरेको छ।

गोर्खा जिल्ला गोर्खा नगरपालिका–६ गोर्खा बसपार्क घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाकोसी गोङ्गबु क्षेत्र बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको सम्पत्ति बरमद भएको हो।

यो रकम र धातु कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

बोहरा भन्छन्, “श्रेष्ठको घरमा स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको सुन र चाँदीको गरगहना छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा नगद र सुनचाँदी बरामद गरिएको हो।”

उनले लुकाएको पैसा र गहना संकलन गर्न प्रहरीलाई दिनभर लागेको थियो। प्रहरीले मेसिन नै लगेर पैसा गनेको थियो। प्रहरीको सूचनामा श्रेष्ठले सुन धरौटी राखेर मिटरब्याजमा पैसा लगानी गर्दै आएका थिए।

प्रहरीले अनुसन्धान बाँकी रहेको भन्दै यो विषयमा थप विवरण दिएको छैन।


Published :भदौ १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media