एएफपी । इराकको राजधानी बगदादमा दुई स्थानीय जातबीच भएको हिंसात्मक झडपमा चार सुरक्षाकर्मीसहित छ जनाको मृत्यु भएको छ । इराकको आन्तरिक मामिला मन्त्रालयले आइतवार घटनाको पुष्टि गरेको हो ।
शनिबार राति बगदादको सादा क्षेत्रमा सुरु भएको विवाद निजी बिद्युत् उत्पादन गर्ने यन्त्रको शुल्क वृद्धिका कारण भएको थियो । इराकमा दैनिक लामो समयसम्म सरकारी बिद्युत् सेवा अवरुद्ध हुने भएकाले अधिकांश नागरिकले निजी यन्त्रमा निर्भर रहनु परेको छ ।
झडप नियन्त्रणका लागि पुगेको सुरक्षाफौजमाथि आक्रमण हुँदा दुई वरिष्ठ अधिकृतसहित चार सुरक्षाकर्मी मारिएका हुन् । यसअघि दुई जनाको मृत्यु भएको उल्लेख गरिएको भए पनि उपचारको क्रममा थप दुई जनाको ज्यान गएपछि संख्या परिमार्जन गरिएको मन्त्रालयले जनाएको छ ।
घटनामा नौ सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने समूहले नै गोली चलाएको र जवाफी कारबाहीमा दुई जना मारिएको मन्त्रालयले जानकारी दिएको छ ।
झडपमा संलग्न पाँच जना घाइते भएका छन् भने केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।
इराकमा जातीय तथा गुटीय झगडा सामान्यजस्तै बनेको छ । दसकौँ लामो युद्ध, अशान्ति र अस्थिरताले गर्दा त्यहाँ सामान्य विवाद पनि घातक झडपमा परिणत हुने गरेको छ । स्थानीय गुटहरूले आफ्नै नियम, आचारसंहिता र न्याय प्रणाली अनुसार चल्ने गर्छन् र उनीहरूसँग ठूलो मात्रामा हातहतियार समेत रहेको हुन्छ । (रासस)