जेनजी आन्दोलनमा भएको आगजनी र लुटपाटमा संलग्नको प्रमाण पठाइदिन प्रहरीको अपिल

काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट, धाकधम्की दिनेलगायतका घटनामा संलग्नहरूलाई कारबाही गर्न नेपाल प्रहरीले प्रमाण संकलन सुरु गरेको छ ।

प्रहरीले आम समुदायलाई आग्रह गर्दै काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न स्थानमा प्रदर्शन र आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र सर्वसाधारणमा डर सिर्जना गर्ने घटनासँग सम्बन्धितहरुको तस्बिर, भिडियो तथा सामाजिक सञ्जालमा रहेका लिङ्कहरू नेपाल प्रहरीको आधिकारिक इमेल ठेगाना nepalpoliceinfo@gmail.com मा पठाइदिन अनुरोध गरेको छ । प्रहरीले प्रमाण उपलब्ध गराउनेहरूका व्यक्तिगत विवरण र गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने पनि जनाएको छ ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा देशभर सार्वजनिक र निजी संरचनाहरूमा व्यापक तोडफोड भएको छ भने नगद, गरगहना र अन्य सामानहरूको लुटपाटसमेत भएको थियो ।

प्रहरीले यसअघि गत चैत १५ मा भएको राजावादी प्रदर्शनमा उच्छृंखलता गर्नेहरूलाई पहिचान गरी पक्राउ गरेको थियो ।

यसपटक भने प्रहरी कार्यालय र व्यारेकहरूमा समेत आगजनी र तोडफोड भएको छ भने हतियार, पोशाकदेखि लिएर मेसमा रहेको दाल, चामलसमेत लुटिएको छ ।

 


Published :भदौ २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media