सेन्ट्रल जेलबाट भागेका रायमाझी डिल्लीबजार कारागारमा उपस्थित

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते सुन्धारास्थित केन्द्रीय कारागार (सेन्ट्रल जेल) बाट भागेका पूर्वसांसद टोपबहादुर रायमाझी मंगलबार डिल्लीबजार कारागारमा उपस्थित भएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी, विघटित प्रतिनिधिसभामा अर्घाखाँची क्षेत्रबाट निर्वाचित सांसद हुन्। आन्दोलनपछि सेन्ट्रल जेलमा तोडफोड र आगजनीका घटनाले स्थिति तनावपूर्ण भएपछि कारागार व्यवस्थापन विभागले विभिन्न जेलबाट निस्केका कैदीबन्दीलाई आफ्नै अनुकूलको कारागारमा उपस्थित हुन सूचित गरेको थियो।

रायमाझीले पनि उक्त सूचनालाई आधार मानेर काठमाडौंमै रहेको र सेन्ट्रल जेलमा बस्न अवस्था नहुँदा डिल्लीबजार कारागार रोजेको कारागार प्रशासनका एक कर्मचारीले जानकारी दिए।

“उहाँले यहाँ बस्न मिल्छ कि भनेर सोध्नुभयो। पहिले भए मिल्दैन थियो, अहिले जुनसुकै कारागारमा सम्पर्कमा आए पनि राख्न सकिने निर्देशन भएकाले यहीं राख्यौँ,” ती कर्मचारीले भने।

रायमाझीले सेन्ट्रल जेलमा भएको तोडफोड र आगजनीका कारण आफ्ना व्यक्तिगत सामान नष्ट भएको जानकारी समेत गराएका छन्। उनी केवल लुगाफाटोसहित कारागारमा फर्किएको प्रशासनले जनाएको छ।

सेन्ट्रल जेलबाट भदौ २४ गतेको घटनापछि करीब ३३ सय कैदीबन्दी भागेका थिए। तीमध्ये झण्डै एक हजार मात्रै फर्किएका छन् भने करिब १०० जना विभिन्न जिल्लाका कारागारमा पुगेका छन्, भनी सेन्ट्रल जेलका प्रशासक कृष्णप्रसाद चापागाईंले जानकारी दिएका छन्।


Published :अशोज ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media