नयाँ जीवित देवी कुमारी बनिन् आर्यतारा शाक्य

राष्ट्रपाटी न्युज

अशोज १४, २०८२

काठमाडौं । काठमाडौंको ढल्कोकी आर्यतारा शाक्य नयाँ जीवित देवी कुमारीका रूपमा चयन भएकी छन्। मंगलबार परम्परागत विधिअनुसार तय गरिएको शुभ साइतमा उनले औपचारिक रूपमा कुमारीको सिंहासन ग्रहण गरेकी हुन्।

यसअघिकी कुमारी तृष्णा शाक्यलाई परम्परागत बाजागाजासहित बिदाइ गरिएको थियो।

हालकी कुमारी तृष्णा शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएको छ । उनी २०७४ सालमा कुमारीघरमा प्रवेश गरेकी थिइन्। उनको उमेर १२ वर्ष पूरा भएकाले दसैँको महाअष्टमीका दिन कुमारीघरमा नयाँ कुमारी भित्र्याएको गुठी संस्थान, प्रधान कार्यालयले जनाएको छ।

मंगलबार आर्यतारालाई औपचारिक रूपमा बसन्तपुरस्थित कुमारी घरमा प्रवेश गराइएको छ। शाक्य महाविहार संघले नयाँ कुमारी चयनका लागि सहरका १५ वटा बहालहरूलाई पत्राचार गरी सिफारिस मागेको थियो। प्राप्त नामहरूमध्ये परम्परागत अभ्यासअनुसार, गुथि संस्थान, पञ्चाङ्ग समिति र चयन समितिको परामर्शमा आर्यतारा शाक्यलाई कुमारीका रूपमा छानिएको हो।

नेपालको सांस्कृतिक र धार्मिक परम्परामा कुमारीलाई जीवित देवीका रूपमा श्रद्धा गरिन्छ।


Published :अशोज १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media