विजया दशमीका दिन देशभर वर्षा हुने मौसम विभागको पूर्वानुमान

राष्ट्रपाटी न्युज

अशोज १४, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको विजया दशमीका अवसरमा देशभर वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाले मंगलबार जारी गरेको दशैं विशेष बुलेटिनअनुसार भोलि बुधबार र पर्सि टीकाको दिन बिहीबार सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

बुधबार असोज १५ गते कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै बिहीबार विजया दशमीका दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा पानी पर्ने अनुमान गरिएको छ ।

सोही दिन कोशी प्रदेशका पहाडी तथा तराई भूभागमा र मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ ।

टीकाको भोलिपल्ट असोज १७ देखि पूर्वी नेपालमा मुसलधारे वर्षा सुरु हुने सम्भावना रहेको छ ।

मौसम विज्ञ डा विनोद पोखरेलका अनुसार तीनवटा मौसम प्रणाली विकास भइरहेकोले विशेषगरी पूर्वी नेपालमा वर्षा तीव्र हुने देखिएको छ।

यस्तै जलवायु विपद् विज्ञ डा। धर्मराज उप्रेतीले असोज १८ गतेदेखि पूर्वी नेपाल हुँदै मुसलधारे वर्षा हुने र सो प्रणाली क्रमशः पश्चिम सर्दै असोज २० गतेसम्म लुम्बिनी र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने बताएका छन्।


Published :अशोज १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media