सबैका निम्ति आज तलेजु भवानी मन्दिर खोलिँदै

राष्ट्रपाटी न्युज

अशोज १५, २०८२

काठमाडौं । तलेजु भवानीको मन्दिर आज (असोज १५) सबैका निम्ति खुला गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र यो मन्दिर सबैका निम्ति पूजाआजा एवं दर्शन गर्न खुला गर्ने गरिन्छ ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका निम्ति पुग्ने गर्छन् । तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि समेत दिइन्छ । राज्य सञ्चालनका निम्ति शक्ति प्राप्त होस् भन्ने संकल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ ।


Published :अशोज १५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media