मनसुनजन्य विपदमा परी ज्यान गुमाउनेको संख्या ४६ पुग्यो, ६ जना बेपत्ता

राष्ट्रपाटी न्युज

अशोज २०, २०८२

काठमाडौं । गत शुक्रबारदेखि देशका विभिन्न भागमा निरन्तर परेको भारी वर्षापछि आएको बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म ४६ जनाको मृत्यु भएको जनाएको छ। बाढी र पहिरोमा परेर सोमबार मध्यान्न १२ बजेसम्ममा ४६ जनाको मृत्यु भएको व्यवस्थापन प्राधिकरणले जनाएको छ। मृत्यु हुनेको संख्या अझैं बढ्न सक्ने आंकलन गरिएको छ।

प्राधिकरणका अनुसार इलाममा सबैभन्दा बढी ३७ जनाको पहिरोमा परेर मृत्यु भएको छ। यहाँ दुईजना बेपत्ता छन्। इलाममा पहिरोमा परी १० जना घाइते भएका छन्।

यसैगरी इलामको माङसेबुङ गाउँपालिकामा पहिरोमा फसेकी  एकजना गर्भवतीसहित दुईजनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

यसैगरी पाँचथरमा पहिरोमा परेर १ जना, खोटाङमा खोलाले बगाएर १ जना, उदयपुरमा खोलाले बगाएर २ जना, रौतहटमा चट्याङ लागेर ३ जना, पहिरोमा परेर काभ्रेमा १ जना र बाढीमा परी मोरङमा १ जनाको मृत्यु भएको हो। बाढी र पहिरोमा परी हालसम्म ६ जना वेपत्ता र २८ जना घाइते भएका छन् ।


Published :अशोज २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media