संसद् पुनर्स्थापनाबाहेक अर्को विकल्प छैनः एमाले अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

अशोज २३, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा विघटन गरिएको संसद् पुनर्स्थापनाको माग गर्दै अघि बढ्नु नै मुलुकलाई लोकतान्त्रिक बाटोमा फर्काउने एक मात्र विकल्प भएको बताएका छन् ।

भक्तपुरको गुण्डुमा एमाले जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा बिहीबार बोल्दै ओलीले अहिलेको संकट समाधानका लागि संसद् पुनःस्थापना अपरिहार्य भएको जिकिर गरे।

‘देशलाई सही बाटोमा ल्याउन संसद् विघटन फिर्ता गर्नैपर्छ,’ उनले भने, ‘मलाई विश्वास छ— नेपाली कांग्रेस पनि यही बाटोमा उभिन्छ। अन्य पार्टीहरू पनि लोकतान्त्रिक मूल्य मान्यताका लागि यही बाटो रोज्ने छन्।’

ओलीले संविधानविपरीतका गतिविधिलाई समर्थन गरेर अघि बढे देश गम्भीर संकटमा पर्ने चेतावनी पनि दिए। ‘यदि हामीले असंवैधानिक र अलोकतान्त्रिक अभ्यासहरूलाई मान्यता दियौं भने त्यो मुलुकका लागि विनाशकारी हुनेछ,’ उनले भने, ‘समयमै उचित र दृढ निर्णय लिन सकेनौं भने पछि पछुताउनु पर्नेछ।’

उनको भनाइमा, अहिलेको राजनीतिक मोडमा लोकतन्त्र, संविधान र प्रणाली जोगाउने बाटो संसद् पुनर्स्थापनाको मागलाई बलियोसँग अघि बढाउनु नै हो।


Published :अशोज २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media