
काठमाडौं । २०२५ को लागि नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ।
नोबेल समितिले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै नोबेल शान्ति पुरस्कार मारिया कोरिना मचाडोलाई प्रदान गरिएको जनाएको हो।
भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्न र तानाशाहीको सामना गर्दै न्यायपूर्ण र शान्तिपूर्ण तरिकाले लोकतन्त्रको लागि लडेकोमा उनलाई यो पुरस्कार प्रदान गरिएको समितिले उल्लेख गरेको छ।
मारिया को हुन् ?
मारिया कोरिना मचाडो भेनेजुएलाकी विपक्षी नेतृ हुन्। गत वर्ष उनलाई राष्ट्रपति चुनावमा उम्मेदवार हुनबाट रोक लगाइएको थियो। यसले गर्दा चुनावलाई अन्यायपूर्ण भनी विश्वव्यापी रूपमा निन्दा गरिएको थियो।
बीबीसी दक्षिण अमेरिका संवाददाता इओन वेल्सले गत वर्ष काराकसमा भएको चुनावमा आफ्ना उम्मेदवार एडमन्डो गोन्जालेजको लागि आयोजित र्यालीमा सडकमा ठुलो भीड देखे।
यसले निकोलस मादुरोको सरकारलाई चिन्तित बनायो। मारिया देशको विपक्षी नेता हुन्। उनी सडक र मतदान केन्द्रहरूमा हजारौंको भीडलाई परिचालन गर्न सक्षम छिन्।
गत वर्षको चुनावी सर्वेक्षणले उनको जित निश्चित रहेको सुझाव दिएको थियो। तर धेरै पर्यवेक्षकहरूले चुनावी अनियमितताहरू फेला पारे पनि निकोलस मादुरोले तेस्रो कार्यकाल जिते।
बीबीसी दक्षिण अमेरिका संवाददाता इओन वेल्सले पनि मानिसहरूलाई घण्टौंसम्म मतदान केन्द्र बाहिर उभिन बाध्य पारिएको देखे।
चुनावी नतिजापछि देशका धेरै भागहरूमा विरोध प्रदर्शन भए तर प्रशासनले त्यसलाई दबाइदियो।
माचाडोको ठेगाना हाल अज्ञात छ। उनी जनवरीमा मादुरोको शपथग्रहण विरुद्धको विरोध प्रदर्शनमा देखिएकी थिइन्।
उनलाई केही समयका लागि पक्राउ गरिएको थियो तर पछि रिहा गरिएको थियो।
पुरस्कार प्राप्त मारियाको प्रतिक्रिया
यो वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गरेको खबर सुनेपछि मारिया कोरिना मचाडोले आफू अचम्ममा परेको भनेर प्रतिक्रिया दिएकी छन्।
उनकी प्रेस टोलीले एएफपी समाचार एजेन्सीलाई पठाएको भिडियोमा मचाडोले आफ्नो स्थानमा उम्मेदवार बनेका एडमुण्डो गोंजालेजलाई भनिन्, “म अचम्ममा परेकी छु१”
गोंजालेज करिब एक वर्षअघि निर्वासनमा गएका थिए।
“के हो यो ? मलाई विश्वासै लागिरहेको छैन,” ५८ वर्षीया मचाडो भन्छिन्। उनी अहिले भेनेजुएलामा लुकिछिपी बस्दै आएकी छिन्।
नोबेल समितिले के भन्यो ?
नोबेल समितिले विज्ञप्तिमा २०२५ को नोबेल शान्ति पुरस्कार गहिरो हुँदै गएको अन्धकारको बीचमा प्रजातन्त्रको ज्वाला बाल्दै राखेकी महिलालाई दिइएको जनाएको छ।
विज्ञप्तिमा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो हालैका समयमा ल्याटिन अमेरिकामा साहसको सबैभन्दा असाधारण उदाहरण मध्ये एक भएको उल्लेख छ।
समितिका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडनेसले माचाडो एक महत्त्वपूर्ण व्यक्तित्व भएको बताए।
ʻहामी असहमत हुन सक्छौँ। तर लोकप्रिय शासनका सिद्धान्तहरूको रक्षा गर्ने हाम्रो चाहना लोकतन्त्रको सार हो,ʼ विज्ञप्तिमा भनिएको छ।
उनले भने,ʻलोकतन्त्र खतरामा परेको बेला, यसको रक्षा गर्नु अरू कुनै पनि कुरा भन्दा बढी महत्त्वपूर्ण हुन्छ।ʼ