शिक्षक नियुक्तिमा साढे चार लाख घुस मागेको आरोपमा प्रधानाध्यापक र बिचौलिया अख्तियारको नियन्त्रणमा

राष्ट्रपाटी न्युज

अशोज २५, २०८२

काठमाडौं । श्री जयकिसान माध्यमिक विद्यालय धरहरी, रौतहटमा शिक्षक नियुक्तिका लागि घुस मागिएको आरोपमा विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा नियन्त्रणमा परेका छन् ।

अख्तियारका अनुसार विद्यालयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रितपूर्वक दरखास्त दिएको समयमा प्रधानाध्यापक प्रसादले नियुक्तिका लागि बिचौलिया साहकानु मार्फत रु। ४ लाख ५० हजार घुस मागेको उजुरी आयोगमा दर्ता भएको थियो ।

उक्त उजुरीका आधारमा आयोग, टंगालबाट खटिएको टोलीले सेवाग्राहीबाट सो रकम बिचौलिया साहकानुले लिइसकेको अवस्थामा दुवैजनालाई मिति २०८२ असोज २४ गते जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका–१३ अदालत रोडस्थित एक होटलबाट पक्राउ गरेको हो।

दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।


Published :अशोज २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media