तीन दलका शीर्ष नेतालाई विदाई गर्न गगनको आह्वान

राष्ट्रपाटी न्युज

अशोज २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेताहरुलाई विदाई गर्न आह्वान गरेका छन् । उनले सम्वादको नयाँ वातावरण बनाउन पनि अपिल गरेका छन् ।

आइतबार एक भिडिओ सन्देश जारी गर्दै उनले अब शीर्ष नेतालाई बिदा गर्नै पर्ने बताएका हुन् ।

नेपाली राजनीतिमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १० वर्षयता सत्ताको म्युजिकल चेयर चलिरहेको बताउँदै उनले उनीहरूलाई बिदा गर्नै पर्ने मत राखेका हुन् ।

थापाले २०८२ भदौ २५ गतेपछि र भदौ २२ गतेअघिको नेपाल एउटै नरहेको पनि टिप्पणी गरेका छन् । सभापति देउवालाई यत्रो पर्दा संवेदना नराखेको भनेर पार्टीकै साथीहरूले कुरा उठाएकोमा उनले त्यस्तो नगरेको बताए ।

आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ २४ गते जेन-जीका नाममा सभापति देउवामाथि गरिएको आक्रमणको भर्त्सना गर्दै वक्तव्य निकालेको पनि उनले बताए ।

आफूहरू कसैमाथि पनि हुने भौतिक आक्रमणको कुरा अस्वीकार्य हुन्छ भनेर मान्ने व्यक्तिका रुपमा एक पटक फेरि चिनाए । थापाले आफूहरू पनि हातपात हुनबाट मुस्किलले बाँचेको बताए ।

उनले यदि छोड्नु परे आफू पनि पार्टीको नेतृत्व छोड्न तयार रहेको सन्देश फेरि दोहोर्‍याएका छन् । यसअघि पनि गगनले आफू महामन्त्री पद त्याग्न तयार रहेको बताएका थिए ।


Published :अशोज २६, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media