देशभर एकैदिन १४ आगलागीका घटना, सावधानी अपनाउन आग्रह

राष्ट्रपाटी न्युज

कार्तिक ९, २०८२

काठमाडौँ । एकैदिन देशभर १४ आगलागीका घटना भएका छन्। सावधानी र चेतना अभावमा देशभर आगलागीका घटनामा बढोत्तरी भएको तथ्यांक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा एकैदिन अर्थात् कात्तिक ७ गते आगलागीका घटना भएका छन्। धेरैजसो आगलागीका घटना लापरबाहीका कारण भएको देखिन्छ।

प्राधिकरणका अनुसार कात्तिक ६ गते पनि १३ आगलागीका घटना भएका थिए। झापा, इलाम, सुनसरी, सङ्खुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालिकोट र पर्सामा दुई आगलागीका घटना भएका थिए। यस्तै पाल्पामा तीन आगलागीका घटना भएका थिए। कात्तिक ५ गते १७ आगलागीका घटना भएका थिए। प्राधिकरणको तीन दिनको विवरणमा धेरैजसो विपद्का घटनामा आगलागी देखिएको छ। मनसुन सकिएर वर्षा बन्द भएपछि देशभर आगलागीका घटनामा बढोत्तरी भएको छ। आगलागीबाट जोगिन विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

कात्तिक ७ गते देशभर कुल १८ विपद्का घटना भएका थिए। ती घटनामा ६ जना घाइते भएका छन्। ती घटनाले रु ७७ लाख ९१ हजारबराबरको अनुमानित क्षति भएको छ। यस्तै, सर्पदंशका दुई, पहिरो एक र चट्याङ, जनावर आक्रमणका एकएक घटना भएका थिए।


Published :कार्तिक ९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media