हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

राष्ट्रपाटी न्युज

कार्तिक १५, २०८२

काठमाडौँ । हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् ।

काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचङ्गुनारायणस्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना ठुला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो बढेको हो ।

यी मन्दिरमा आज विशेष मेला लागेको छ । साथै नागार्जुन नगरपालिका– ७ रामकोटस्थित  बद्रीनारायण धाममा पनि मेला लागेको छ ।  यसैगरी तनहुँको व्यास नगरपालिका–९ स्थित सिद्धेश्वर राजापानी महादेव मन्दिरमा एकादशी मेला लागेको छ ।

काठमाडौँ उपत्यकाका चार नारायणस्थानमा जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बुढानीलकण्ठ नारायणस्थान र नारायणहिटीस्थित चातुव्र्युह नारायण मन्दिरको दर्शन गर्दा चार नारायणको दर्शन एवं पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यी दुवै मन्दिर शेषशायी भगवान् नारायण विराजमान छन् ।

बूढानीलकण्ठको नारायणस्थानमा ठूलो ढुङ्गामा निर्मित हर र हरि भगवान्को यस्तो मूर्ति विश्वमा अन्यत्र कतै नभएको बताइन्छ । वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी, बुढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लागेको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको दिनलाई हरिबोधिनी एकादशी भनिन्छ ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग तुलसीको विवाह गर्ने प्रचलन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाका लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।


Published :कार्तिक १५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media