कोरियन भाषा परीक्षा मंसिर १ देखि सुरु हुने

राष्ट्रपाटी न्युज

कार्तिक २४, २०८२

काठमाडौं । कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ।

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ।

शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्। जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण हुने अनुमान गरिएको छ।

तर, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ। एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने छ।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।


Published :कार्तिक २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media