रवि र छविको मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

राष्ट्रपाटी न्युज

कार्तिक २७, २०८२

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश भएको सूचना अधिकृत रामबहादुर कुँवरले जानकारी दिए।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ। लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो।

जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए। तर, दुवै प्रतिवादीको हकमा भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश भएको थियो। बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी उच्च अदालतमा निवेदन दिएका थिए। लामिछाने पूर्पक्षका लागि नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन् ।


Published :कार्तिक २७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media