एमालेले आज नेशनल भोलेन्टियर फोर्स घोषणा गर्ने

राष्ट्रपाटी न्युज

मंसिर ५, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेशनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा गर्दैछ । माइतीघर मण्डलामा युवाहरू भेला भएर बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वेटमा घोषणा सभा गर्न लागिएको हो ।

पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ २४ को घटनापछि आम मानिसहरूको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको हो ।

फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले फोर्स गठन गर्न लागिएको हो ।

आज बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्नेछन् । सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओली लगायत नेताहरूका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेले महसुस गरेको हो । एनभीएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल बिस्तार गरिने ढकालले बताए ।


Published :मंसिर ५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media