काठमाडौँ महानगरले ज्येष्ठ नागरिकलाई घर-घरमा पुगी स्वास्थ्य सेवा दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

महानगरले आगामी माघदेखि ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्तको स्वास्थ्य परीक्षण गर्न सुरु गर्न थालेको महानगरका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिए ।

महानगरका ३२ वटै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका स्टाफ नर्सले ती ज्येष्ठ नागरिकको घरघरमा गई स्वास्थ्य परीक्षण गर्नेछ । उपचार गर्न अस्पताल र प्रवर्द्धन केन्द्रमा जान नसक्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महानगरले सेवा प्रदान गर्न थालेको हो ।

महानगरका चिकित्सक डा. दिवस न्यौपानले सुरुमा स्टाफ नर्सले घरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने र आवश्यक परेको खण्डमा चिकित्सक गएर ती ज्येष्ठ नागरिकको उपचार गर्ने बताए ।

“३२ वटै वडामा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका स्टाफ नर्सले आआफ्नो ठाउँमा रहेका ज्येष्ठ नागरिकको शारीरिक र मानसिक स्वास्थ्य रिर्पोट तयार पार्दछन् । त्यही बेला नै उच्च रक्तचाप, मधुमेहलगायत सामान्य परीक्षण गर्ने छन्”, उनले भने, “सोही आधारमा ती नागरिकको रोग पत्ता लगाइसकेपछि चिकित्सकले उपचार गर्ने र आवश्यक अन्य उपचारका लागि अस्पतालसम्म लैजाने व्यवस्था गरिने छ ।”

महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि तालिम दिइसकेको विभागमा प्रमुख केसीले जानकारी दिए। “हामीले सबै वडाका स्टाफ नर्सलाई तालिम दिइसकेका छौँ । अब सम्बन्धित वडाका वडाध्यक्ष र केन्द्रका इञ्चार्जसँगको छलफलपछि हामीले ती ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न घरघरमा जान्छौँ”, उनले भने । महानगरमा ७० वर्षभन्दा माथिका करिब २३ हजार ज्येष्ठ नागरिक रहेका छन् ।


Published :पुस १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media