स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्न सक्रिय भूमिका खेल्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई सक्रिय भूमिका खेल्न आग्रह गरेकी छन् ।

सोमबार साँझ बालुवाटारमा पूर्वसांसद मञ्चको प्रतिनिधिमण्डलसँग भएको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, “अहिले मुलुकको अवस्था संवेदनशील छ। प्रत्येक नेपाली नागरिकले ‘यो देश मेरो पनि हो’ भन्ने जिम्मेवारीबोधका साथ समाजमा शान्ति र सद्भाव कायम राख्नुपर्छ। यसरी मात्र निर्वाचन सुरक्षित, निष्पक्ष र लोकतान्त्रिक हुन सक्छ।”

प्रधानमन्त्री कार्कीले मतदाता शिक्षामा सबैले काम गर्नुपर्नेमा जोड दिँदै, “निर्वाचन त हुन्छ नै। अब यो निर्वाचनले मुलुकलाई निकास दिनुपर्छ। नयाँ पुस्ताको हातमा शासन व्यवस्था गएमा मुलुकले पक्कै लय समाउनेछ,” भनिन् ।

पूर्वसांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा रामेश्वर राय, विश्वेश्वरा दाहाल, रमा गुरागाईं, गोविन्दबहादुर शाह, हिक्मतबहादुर शाही, शंकरनाथ शर्मा, शिवराज जोशी, नरबहादुर हमाल, अक्कलबहादुर विष्ट र विष्णुबहादुर राउत लगायत सहभागी थिए ।

प्रतिनिधिमण्डलले मुलुकमा निर्वाचन नै निकासको एक मात्र लोकतान्त्रिक विकल्प रहेको भन्दै, “यो अफ्ठ्यारो समयमा मुलुक सम्हाल्न सरकारले गरेको प्रयासको हामी सराहना गर्छौँ। निर्वाचन सफल पार्न हामी सरकारको साथमा छौँ। जननिर्वाचित संसद आए मात्र मुलुकमा लोकतन्त्र जीवित रहन्छ,” बताएका छन्।

मञ्चले आवश्यक कार्यालय र स्रोत व्यवस्थासहित निर्वाचनको तयारीमा सरकारलाई सहयोग पुर्‍याउन पनि आग्रह गरेको छ।


Published :पुस २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media