
ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरेर चुनावमा जाने निर्णय गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा मंगलबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको थियो।
बैठकले आगामी माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहकार्य र तालमेलको नीति अपनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा महामन्त्री गगनकुमार थापा तथा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आ–आफ्ना धारणा राखेका उनले बताए।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक पुस २३ गते बुधबार बिहान ९ बजे पुनः बस्ने भएको छ ।