कांग्रेसको विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनको तयारी तथा व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेका छन् ।

विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यही पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने आह्वान गरेको छ । सोही अवसरमा महाधिवेशन व्यवस्थापनका लागि विभिन्न १८ उपसमिति गठन गरिएको जानकारी गराइएको हो । समितिका अनुसार उपसमितिका संयोजकहरू पनि तोकिसकिएको छ ।

गठित उपसमितिहरूमा व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्था, ‘जेन–जी’ युवा परिचालनलगायत विषयगत समिति रहेका छन् ।

विशेष महाधिवेशन पक्षधरहरूले बाध्यात्मक परिस्थितिका कारण विशेष महाधिवेशन आह्वान गरिएको स्पष्ट पारेका छन् । जारी विज्ञप्तिमा विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै २०८२ पुस २७ र २८ गते काठमाडौंमा आयोजना हुने विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई उत्साहपूर्ण र सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ ।

महाधिवेशनका लागि सचिवालयले शान्ति–सुरक्षाको व्यवस्थाबारे स्थानीय प्रशासनसँग पत्राचार गरिसकेको जनाएको छ । साथै महाधिवेशनस्थलका रूपमा भृकुटीमण्डप यसअघि नै बुकिङ गरिसकिएको जानकारी दिइएको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले विशेष महाधिवेशनको विकल्प नरहेको धारणा राखेका छन् । तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन सम्भव नहुने अडान लिएको छ ।

 


Published :पुस २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media