निर्वाचनमा एक थोपा पनि रगत नबग्ने र कोही पनि घाइते नहुने गरी सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकार सम्पूर्ण शक्तिका साथ क्रियाशील रहेको बताएकी छन् ।

शुक्रवार सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले समयानुसार सुरक्षा चुनौतीहरू परिवर्तन हुँदै गएको उल्लेख गरिन् ।

उनले विगतका निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म अध्ययन गर्दै उच्च सतर्कता र व्यवसायिकताका साथ कार्य सम्पादन गर्न निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचनलाई लक्षित गर्दै सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय सरकारले गरिसकेको छ । उनले निर्वाचनका क्रममा एक थोपा पनि रगत नबग्ने र कोही पनि घाइते नहुने गरी सुरक्षा व्यवस्थापन गर्न विशेष ध्यान दिन आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन सबै सुरक्षा निकायले उच्च स्तरको व्यवसायिकता प्रस्तुत गर्ने विश्वाससमेत व्यक्त गरिन् ।


Published :माघ ९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media