आधिकारिक उम्मेदवारलाई सहयोग गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारीलाई निष्कृय गर्न निर्देशन दिएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले केही स्थानमा पार्टीबाट विद्रोह गरेर छुट्टै उम्मेदवारी दर्ता गराएको अवस्थामा आफ्नो उम्मेदवारीलाई निष्कृय गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको जनाएको हो।

कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले छोटो समयका कारण टिकट वितरणमा केही कमजोरी भएको हुनसक्ने भन्दै त्यसलाई स्वीकार गरेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिइएको जानकारी दिए।

उनले पार्टीमा देखिएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्ने बताए। निर्वाचन केन्द्रित प्रचार प्रसारका लागि सातै प्रदेश र वडासम्म निर्वाचन परिचालन समिति बनाएर अघि बढ्न आवश्यक निर्देशन दिइसकेको उनले बताए। प्रवक्ता चालिसेले अगामी पाँच वर्षमा पार्टीको नेतृत्वमा देश निर्माण गर्ने योजनाका साथ घोषणापत्र निर्माण भइरहेको र केही दिनभित्रै सार्वजनिक हुने उल्लेख गरे।

उनले कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मध्ये १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको जानकारी दिए। उनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्धता जनाउँदै छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको बताए।


Published :माघ १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media