
काठमाडौं । पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा एकजना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा करार इन्जिनियर पदमा कार्यरत सुबास बिष्टविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीविरुद्ध १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ बिगो माग गरिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी वैधानिक आयभन्दा बढी सम्पत्ति आर्जन गरेको उनीविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा बिष्टले १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ हिनामिना गरेको पाइएको हो।
अनुसन्धानका क्रममा सुरू नियुक्ति मिति २०७६ फागुन १ गतेदेखि २०८१ साउन १४ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो।
उक्त अवधिमा बिष्ट तथा उनको एकाघर परिवारले वैधानिक रूपमा आर्जन गरेको कूल आय १ करोड २७ लाख ७४ हजार ६ सय ७३ रुपैयाँ २९ पैसा देखिएको छ। तर, सोही अवधिमा व्ययतर्फ जग्गा खरिद,घर निर्माण,सेयर खरिद भएको खर्च,निजको छोराको अध्ययन खर्च,बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्दात,निजको पारिश्रमिक, भत्ताको बचत रकम, ऋण सापटी रकम गरी कूल ३ करोड २४ लाख ८४ हजार ८ सय ३० रुपैयाँ ९२ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगको ठहर छ।
कूल आय र व्ययबीच १ करोड ९७ लाख १० हजार १ सय ५७ रुपैयाँ ६३ पैसाको अस्वाभाविक अन्तर देखिएको र उक्त रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको आयोगको जिकिर छ। आयोगका अनुसार बिष्टले पेस गरेको सम्पत्ति विवरण पनि वास्तविक अवस्थासँग नमिल्दो र अस्वाभाविक देखिएको छ।
बिष्टले वैधानिक आयको तुलनामा उच्च जीवनस्तर यापन गरेको तथा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति बुबा सुदर्शन बिष्टको नाममा राखिएको पाइएको आयोगले जनाएको छ।
सोही आधारमा अख्तियारले बिष्टविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, बिगो बराबर जरिवाना र १ करोड ९७ लाख रुपैयाँभन्दा बढी मूल्यको सम्पत्ति जफतको मागदाबी गरेको छ।