अमेरिकाले नेपाललाई चीनविरुद्ध प्रयोग गर्न रणनीति बनाएको चित्रबहादुर केसीको आरोप

राष्ट्रपाटी न्युज

चैत्र ९, २०८२

काठमाडौं । चित्रबहादुर केसीले नेपाललाई चीनविरुद्ध प्रयोग गर्न अमेरिकाले रणनीति बनाएको आरोप लगाएका छन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विदेशमा रहेका नेपालीहरूलाई सीआईएले प्रभावमा पारेर ‘घण्टी’ चुनाव चिन्हमा भोट हाल्न दबाब दिएको दाबी गरे ।

उनले अमेरिकी प्रभावकै कारण नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एमसीसी पास गरेको आरोपसमेत लगाए।

केसीले ‘एसपीपी’ सम्झौता पास नभएकै कारण नेपालमा केही हदसम्म दबाब कम भएको उल्लेख गर्दै बाह्य हस्तक्षेपबारे सचेत हुनुपर्ने बताए। उनले इतिहासमा एडोल्फ हिटलरको उदाहरण दिँदै जनमत सधैँ सही दिशामा नपर्ने टिप्पणी गरे।

उनका अनुसार विश्वस्तरमा अमेरिकी साम्राज्यवाद प्रमुख चुनौतीका रूपमा रहेको छ र नेपालभित्रका राजनीतिक घटनाक्रममा समेत बाह्य प्रभाव देखिने अवस्था रहेको छ। उनले इरानका जनताको उदाहरण दिँदै नेपालमा पनि सचेत जनमत निर्माण आवश्यक रहेको बताए।

केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलजस्ता परियोजनालाई ‘ऋणको पासो’ भनेर प्रस्तुत गरिने गरेको उल्लेख गर्दै एमसीसीमार्फत नेपाललाई रणनीतिक रूपमा प्रयोग गर्ने प्रयास भइरहेको दाबी गरे।

नेपाल–चीन सम्बन्ध कमजोर बनाउने प्रयास भइरहेको उनको विश्लेषण छ। “यदि हामी सचेत भएनौँ भने नेपाल ठूलो शक्ति संघर्षको मैदान बन्न सक्छ,” उनले चेतावनी दिएका छन्।


Published :चैत्र ९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media