
काठमाडौँ । पुरातत्व विभागमा कार्यरत तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठसहित देउकला अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार श्रेष्ठले निर्माण सेवाका विभिन्न कम्पनी तथा संयुक्त उपक्रम (जेभी) मार्फत विभागमा भएका ठेक्का सम्झौतासम्बन्धी प्रक्रियामा संलग्न रही अनियमित रूपमा घुस/रिसवत लिएको देखिएको छ।
अनुसन्धान विवरणअनुसार निर्माण सेवा प्रा.लि. तथा अन्य जेभीमार्फत सम्पन्न भएका ठेक्काहरूको कुल रकम करिब रु. ६४ अर्ब २१ करोडभन्दा बढी रहेको देखिन्छ। उक्त ठेक्का प्रक्रियामा श्रेष्ठले इन्जिनियर तथा सिनियर डिभिजनल इन्जिनियरको हैसियतमा रहेर प्रत्यक्ष रूपमा भूमिका निर्वाह गरेको आयोगको दाबी छ।
आयोगले गरेको अनुसन्धान अनुसार श्रेष्ठले ठेक्का सहजीकरण गरिदिएबापत विभिन्न मितिमा पटक–पटक गरी करिब रु. ४ करोड २२ लाखभन्दा बढी रकम देउकला अधिकारीको नाममा रहेको बैंक खातामा जम्मा गराएको पाइएको छ। उक्त रकम घुस/रिसवत स्वरूप प्राप्त भएको र त्यसपछि सोही रकम प्रयोग गरी जग्गा खरिद, सुन खरिद तथा विभिन्न व्यक्तिहरूलाई भुक्तानी गरिएको देखिएको आयोगको भनाइ छ।
आयोगका अनुसार आरोपितहरूले मिलेमतोमा अवैध रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण गर्ने र हस्तान्तरण गर्ने कार्य गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत गरेको प्रमाण भेटिएको छ।
यस आधारमा दुवै प्रतिवादीमाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी कारबाही र सजायको मागदाबी लिइएको आयोगले जनाएको छ ।



