चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङद्वारा राजीनामाको घोषणा

राष्ट्रपाटी न्युज

बैशाख ९, २०८३

काठमाडौं । चौतर्फी आलोचनापछि गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा गरेका हुन्।

गुरुङले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पदबाट हट्ने निर्णय गरेको बताएका छन्। “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,” उनले उल्लेख गरेका छन्। उनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्नेमा जोड दिँदै नैतिकताको आधारमा राजीनामा दिएको स्पष्ट पारे। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले भनेका छन्।

पछिल्लो समय आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका छन्। आफूले २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै उनले ती विषयमा निष्पक्ष छानबिनका लागि मार्ग खुला गर्न राजीनामा दिएको बताएका हुन्।

गुरुङले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको ‘जेनजी’ आन्दोलनको सन्दर्भ पनि जोड्दै त्यसले दिएको सन्देशलाई आत्मसात् गरेको बताए।

राजीनामासँगै उनले सञ्चारकर्मी र समाजका अन्य पक्षप्रति पनि प्रश्न उठाउँदै पारदर्शिता र नैतिक साहस देखाउन आग्रह गरेका छन्। उनले सबैलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आह्वान गरेका छन्।

उनले लेखेका छन्
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।


Published :बैशाख ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media