विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन प्रदर्शन

राष्ट्रपाटी न्युज

बैशाख ९, २०८३

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा राजधानीमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ।

नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सरकारको निर्णयलाई अलोकतान्त्रिक र दमनकारी कदम भएको बताएका छन्।

नेविसंघका केन्द्रीय सदस्य मात्रिका तिमिल्सिनाले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति आपत्ति जनाए। “विद्यार्थी संगठनमाथि प्रतिबन्धको घोषणा पञ्चायतकालमा समेत नभएको विषय हो,” उनले भने, “हिजो शान्तिपूर्ण आन्दोलनमा सहभागी साथीहरूलाई पक्राउ गरिएकोप्रति हाम्रो गम्भीर आपत्ति छ।”

उनका अनुसार उक्त कदमविरुद्ध नेविसंघ र अनेरास्ववियुले संयुक्त आन्दोलन सुरु गरेका छन्। सरकारले प्रतिबन्धको निर्णय फिर्ता नलिए देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए।

मंगलबार सिंहदरबार क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले सरकारमाथि माफियालाई संरक्षण दिएको आरोपसमेत लगाएका छन्। उनीहरूले सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै लोकतान्त्रिक अधिकारको रक्षा गर्न आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।


Published :बैशाख ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media