कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरू, निर्वाचन भोलि

राष्ट्रपाटी न्युज

बैशाख १०, २०८३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रक्रिया भएको छ ।  कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गर्दै दलको नेता चयनका लागि प्रक्रिया सुरू गरेको हो ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार मनोनयन दर्ता र निर्वाचन प्रक्रिया हुँदैछ । बिहीबार नै सिंहदरबारमा निर्वाचन समितिले संसदीय दलमा संशोधित विधान पेश गरेको छ । २०७४ को संसदीय दलको विधानलाई संशोधन गर्दै नयाँ विधान पेश भएको कांग्रेस सांसद मदनकृष्ण श्रेष्ठले बताए । उनका अनुसार दलमा पेश भएको विधानमा संशोधन गर्नुपर्ने भए शुक्रबार बिहान ८ बजेसम्म संशोधन प्रस्ताव पेश गर्न समय दिइएको छ ।

दलको नेता चयनका लागि शुक्रबार ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ । त्यस्तै दिउँसो साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने,अपरान्ह ४ देखि ५ बजेसम्म मतदान र मतदात सकिए पनि मतगणना गरेर शुक्रबार नै निर्वाचन परिणाम घोषणा हुने कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ । कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यको दावी छ ।


Published :बैशाख १०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media