गैरीगाउँ सुकुम्बासी बस्तीमा पनि चलाइयो डोजर

राष्ट्रपाटी न्युज

बैशाख १२, २०८३

काठमाडौं । काठमाडौं तीनकुने गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा पनि डोजर चलाइएको छ। शनिबार बिहान थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइसकेपछि दिउँसोदेखि सुरक्षा निकायको बाक्लो उपस्थिति गैरीगाउँमा पनि डोजर चलाइएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।

“अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन । त्यहाँ बसोबास गरिरहनुभएका नागरिकले सरकारको अभियानलाई सहयोग गरिरहनुभएको छ”, प्रजिअ पौडेलले भने, “सुकुमबासीलाई घरटहरा खाली गर्न सुरक्षाकर्मीले मद्दत गरिरहेका छन् ।” आवश्यक पर्नेलाई सुरक्षाकर्मीले मानवीय सहायता पनि गरिरहेका उनले बताए ।

सरकारले दुई दिन अघिदेखि नै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुम्बासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो ।


Published :बैशाख १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media