बाढीका कारण बीपी राजमार्गमा सवारी आवागमन बन्द

राष्ट्रपाटी न्युज

बैशाख १२, २०८३

काभ्रेपलाञ्चोक । शनिबार दिउँसोको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटारसम्मको सडकखण्ड आज दिउँसो ३:३० बजेदेखि बन्द गरिएको हो ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रविन विष्टका अनुसार रोशी खोलामा पानीको बहाव बढेर ठूलो बाढी आएको र जोखिम बढेपछि सडक बन्द गर्नुपरेको हो ।

उनले हालको अवस्था हेरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गर्दै अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अनुरोध गरेका छन् ।

राजमार्ग बन्द भएपछि सवारी साधनहरूलाई धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएको (होल्ड) अवस्थामा राखिएको छ ।

गत वर्षको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत रोशी र नेपालथोक क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो, जसपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो । हाल पनि सो क्षेत्रमा स्थायी सडक निर्माणको काम जारी रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।


Published :बैशाख १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media