‘निरंकुश सरकार ! लिपुलेक र महाकाली सीमामा कति सेना पठायौ ?’

राष्ट्रपाटी न्युज

बैशाख १३, २०८३

काठमाडौं । सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ उत्रिएका छन् ।

उनले सरकारको कदमको कडा विरोध गर्दै गरीब र निमुखा नागरिकमाथि राज्य शक्ति प्रयोग गरिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारलाई ‘निरंकुश सरकार’को संज्ञा दिएका छन् । उनले १९०० प्रहरी परिचालन गरेर सुकुम्बासी बस्ती हटाउने सरकारसँग लिपुलेक र महाकाली सीमामा कति सेना पठाइयो भनेर प्रश्न गरेका छन् ।

भारतले महाकाली सीमाना नदी च्यापेर आफूखुसी बाँध निर्माण गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न सके मात्र सरकारलाई धन्यवाद दिने उनले बताएका छन् ।
“गरीबको झुपडी भत्काएर बहादुर ठान्नु र सानो बालकसँग लडेर जितें भन्नु एउटै कुरा हो,” साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले सरकार जनताको समस्याप्रति गम्भीर नभएको आरोपसमेत लगाएका छन् । दलित समुदायमाथि अझै पनि विभेद भइरहेको, जनता सडकमा रात बिताउन बाध्य भएको तथा देशभरिका सुकुम्बासी बस्तीहरू डोजर आतंकको जोखिममा परेको उनको दाबी छ ।

साम्पाङले आगामी पाँच वर्ष गरीब, निमुखा, साना व्यवसायी, अव्यवस्थित बसोबासी र सुकुम्बासीले डोजर, पुलिस, लाठी, बुट, बन्दुक र जेलखाना मात्रै देख्ने टिप्पणी गरेका छन् ।


Published :बैशाख १३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media