मौसम पूर्वानुमानः बुधबारदेखि तीव्र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

राष्ट्रपाटी न्युज

बैशाख १५, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेस प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ ।

विभागले हावाहुरी सुरु हुने सम्भावित समय बुधबार साँझ ५ः४५ बजे तथा समाप्त हुने सम्भावित समय बिहीबार बिहान ७ः४५ बजे रहने जनाएको छ ।

पश्चिमी प्रणाली पूर्वतर्फ सर्दै गएकाले देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । प्रतिकूल मौसमका कारण जनजीवन, कृषि, यातायात तथा विद्युत् सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


Published :बैशाख १५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media