
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराइ र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ ।
मन्त्रालयले कर्मचारीलाई समेत तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन तथा रमाना लिन निर्देशन दिएको हो ।
मन्त्रालयले विभिन्न स्थानमा खटाइएका कर्मचारी हालसम्म कार्यस्थलमा नपुगेको गुनासो आएपछि सूचना निकालेको हो । सूचनामा तोकिएको समयभित्र हाजिर नभए कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने भनिएको छ ।