राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

राष्ट्रपाटी न्युज

बैशाख २०, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका छन् ।

राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन महाराजगञ्जबाट आइतबार जारी विज्ञप्तिअनुसार, “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३” को विषयवस्तुबारे पुनर्विचार गर्न सरकारलाई पठाइएको हो।

यसअघि सोही विषयसँग सम्बन्धित विधेयक २०८२ असार २५ गते प्रमाणीकरणका लागि पेश गरिएकोमा राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाउनुभएको थियो। साथै, २०८२ मंसिर २ गते तत्कालीन मन्त्रिपरिषद्को निर्णयअनुसार आएको अध्यादेशसमेत जारी नभएको स्मरण गराइएको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख १४ गतेको सिफारिसका आधारमा पुनः अध्यादेश पेश गरिए पनि त्यसको विषयवस्तुमा थप विचार आवश्यक देखिएकाले राष्ट्रपतिबाट पुनर्विचारका लागि सरकारसमक्ष पठाइएको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिको यस कदमलाई संवैधानिक प्रक्रियाभित्र रहेर अध्यादेशका विषयमा थप स्पष्टता र सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ।

 


Published :बैशाख २०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media