
काभ्रेपलाञ्चोक । वि.पी. राजमार्गअन्तर्गत काभ्रेको कटुन्जेबेँसी-नेपालथोक सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गरेको छ ।
गत वर्षको बाढीका कारण क्षतिग्रस्त भई हाल निर्माण तथा स्तरोन्नति भइरहेको उक्त सडकखण्डमा सामान्य वर्षात्काे समयमा समेत सडक अवरुद्ध हुने समस्या देखिँदै आएको प्रशासनले जनाएको छ । विशेष गरी रोशी खोलामा आउने बाढीका कारण यात्रु र सवारीसाधन उच्च जोखिममा पर्ने अवस्था रहेको उल्लेख गरिएको छ ।
प्रशासनकाअनुसार मिति २०८३ वैशाख २२ गते रोशी गाउँपालिका-७ घुमाउने क्षेत्रमा आएको बेलबाढीमा सवारीसाधन फस्दा ८९ जनाको ज्यान जोखिममा परेको घटनाले जोखिम झनै स्पष्ट पारेको छ । साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनलाई समेत मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच समन्वय गरिएको थियो ।
जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार आजदेखि अर्को सूचना जारी नभएसम्म खुर्कोट-भकुण्डेबेँसी सडकखण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ । साथै मौसम र बाढीको अवस्थाअनुसार अन्य समयमा पनि आवश्यक परे अस्थायी रूपमा सवारी आवागमन रोक्न सकिने प्रशासनले जनाएको छ ।
यात्रुहरूलाई उक्त सडकखण्ड प्रयोग गर्नु अघि नजिकका प्रहरी कार्यालय वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) मार्फत सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।