बस्ती खाली गर्ने निर्णय रोक्न माग गर्दै बुटवलमा भूमिहीन तथा सुकुम्बासीको प्रदर्शन

राष्ट्रपाटी न्युज

बैशाख २४, २०८३

बुटवल । भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले सरकारविरुद्ध बुटवलमा प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिको आयोजनामा गरिएको प्रदर्शनमा बिना विकल्प बस्ती खाली गर्ने सरकारी कदम तत्काल रोक्न माग गरिएको हो।

प्रदर्शनकारीहरूले सरकारले वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरी विगतका भूमि आयोगहरूले अघि सारेको व्यवस्थाअनुसार जग्गा व्यवस्थापन र लालपुर्जा वितरण गर्नुपर्ने माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामासमेत माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले “डोजर आतंक बन्द गर”, “नागरिकलाई विस्थापित होइन स्थापित गर”, “हाम्रो कर र मत वैध, हामी बसेको जमिन कसरी अवैध ?”, “मानव अधिकारको सम्मान गर” तथा “विकासको नाममा विनाश स्वीकार्य छैन” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन अस्पताललाइन हुँदै ट्राफिकचोक पुगेर सभामा परिणत भएको संघर्ष समितिले जनाएको छ। प्रदर्शनमा रुपन्देहीका विभिन्न स्थानबाट भूमिहीन, दलित तथा अव्यवस्थित बसोवासी सहभागी भएका थिए।

रुपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी गरी ८० हजारभन्दा बढी व्यक्तिले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएका थिए।

विघटित भूमि समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष कुमार थापा मगरका अनुसार जिल्लामा करिब एक लाख भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासी रहेको अनुमान छ।


Published :बैशाख २४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media