
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवाको हैसियतबारे प्रश्न उठाएका छन्। धनगढीमा आयोजित नेपाली कांग्रेसको सुदूपश्चिम प्रदेश स्तरीय भेलामा मुख्यमन्त्री शाहले देउवाको हैसियतबारे प्रश्न उठाएका हुन्।
शाहले पार्टीका निवर्तमान सभापति देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगनकुमार थापालाई प्रश्न गरेका छन् । कांग्रेसको ‘जरा अभियान’ का क्रममा शनिबार धनगढीमा भएको सभामा सम्बोधन गर्दै उनले जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएकोलगायतका विषय उठाउँदै सभापति थापालाई प्रश्न गरेका थिए ।
‘२३ र २४ गतेको शेरबहदुर देउवा र आरजु राणामाथि भएको आक्रमण स्वाभाविक हो कि अस्वाभाविक हुन् ? देउवालाई टिकट नदिने कुरा स्वाभाविक हो वा अस्वाभाविक ? त्यो सभापतिले भन्नु पर्छ,’ शाहले भने । देउवालाई टिकट दिनबाट बञ्चित गराइनुको कारण सोध्दै उनले अब देउवाको स्थान के हुने ? भन्दै प्रश्न गरेका थिए ।
गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति नभएको बताउँदै सिंगो कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी पनि सभापति थापाकै काँधमा रहेको पनि उनले बताएका छन् । ‘अबको १० बर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ तर, तपाईंको कार्यसमितिभित्र पनि भाइरसहरू छन् तिनले तपाईंलाई समाप्त पार्न सक्छन्,’ उनले भने । उनले सिंगो नेपाली कांग्रेसलाई एक बनाएर अघि बढ्न सभापति थापालाई सुझाव समेत दिएका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित भएपछि पहिलो पटक निवर्तमान सभापति देउवाको गृह प्रदेशमा पुगेका थापालाई धनगढीमा नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए । सभापति थापाको स्वागतमा देउवा पक्षीय मानिने मुख्यमन्त्री शाह नै धनगढी विमानस्थल पुगेका थिए । यता प्रदेशस्तरीय भेलामा कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर र कैलालीका पार्टी सभापति नारायणदत्त भट्ट भने अनुपस्थित भएका छन् ।