
काठमाडौँ । बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि राजीनामा दिन दबाब बढेको छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीले बेहोरेको लज्जास्पद हारपछि प्रधानमन्त्री स्टार्मरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नै मन्त्रिपरिषद्का सदस्यले समेत उनको बहिर्गमनको समय तालिका माग गरेका हुन् ।
प्रधानमन्त्रीको राजीनामा माग्नेमा गृहसचिव शबाना महमुद समेत रहेकी छिन् । मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको निरन्तरतालाई लिएर स्पष्ट दुई धार देखिएको छ । गृहसचिव महमुद अल्पमतमा रहे पनि उनले स्टार्मरलाई राजीनामाको निश्चित समय सार्वजनिक गर्न दबाब दिएकी छिन् । यसअघि लेबर पार्टीका ६ जना सांसदलाई प्रधानमन्त्रीको राजीनामा मागेकै कारण पदबाट हटाइएको थियो ।
पार्टीभित्रैबाट चर्को आलोचना भए पनि प्रधानमन्त्री स्टार्मरले भने आफूले ‘शंका गर्नेहरूलाई’ गलत प्रमाणित गरिदिने दाबी गरेका छन् । उनले आफ्नो सरकारबाट केही गल्ती भएको स्वीकार गर्दै ठूला राजनीतिक निर्णय भने सही भएको जिकिर गरेका छन् ।
यस्तै, लेबर पार्टीकी अर्की सांसद क्याथरिन वेस्टले तत्काल नेतृत्वलाई चुनौती नदिने बताए पनि प्रधानमन्त्रीले आगामी सेप्टेम्बरसम्ममा पद छाड्नुपर्ने अडान राखेकी छिन् ।
इङ्ल्यान्ड, स्कटल्यान्ड र वेल्समा भएको चुनावमा लेबर पार्टीको प्रदर्शन निकै निराशाजनक रहेपछि स्टार्मरको नेतृत्वमाथि संकट चुलिएको हो । (एजेन्सी)