राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्रीले तत्काल माफी माग्नुपर्ने १० विद्यार्थी संगठनको माग

राष्ट्रपाटी न्युज

जेष्ठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनले संयुक्त रूपमा विरोध जनाएका छन् ।

अनेरास्ववियु, अखिल (समाजवादी), अखिल (छैटौँ), अनेरास्ववियू (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, जनपक्षीय विद्यार्थी युनियन नेपाल, अनेरास्ववियू, अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी सङ्गठनका अध्यक्षहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रघाती, आत्मसमर्पणवादी तथा राष्ट्रहितविपरीत’ भएको आरोप लगाएका हुन् ।

संयुक्त वक्तव्यमा लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी रहेको अवस्थामा प्रधानमन्त्रीबाट राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई कमजोर बनाउने अभिव्यक्ति आउनु गम्भीर र निन्दनीय विषय भएको उल्लेख गरिएको छ ।

विद्यार्थी नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भारत भ्रमणअघि प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्तिलाई सामान्य भूल नभई राष्ट्रहितविपरीत राजनीतिक सोचको अभिव्यक्ति भएको दाबी गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री शाहलाई विवादित अभिव्यक्ति तत्काल फिर्ता लिन, नेपाली जनतासमक्ष सार्वजनिक रूपमा माफी माग्न तथा आफ्नो धारणा सच्याउन माग गरेका छन् । माग सम्बोधन नभए राष्ट्रहित र राष्ट्रिय स्वाधीनताविरुद्धका यस्ता प्रवृत्तिका विरुद्ध देशभरका विद्यार्थी, युवा तथा देशभक्त नागरिकले सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन् ।


Published :जेष्ठ १७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media