प्रतिनिधिसभाको बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

राष्ट्रपाटी न्युज

जेष्ठ १९, २०८३
काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख डीपी अर्यालले बैठक सञ्चालन हुन नसकेपछि अर्को बैठक जेठ २५ गते बस्ने जानकारी दिएका छन्।

दिउँसो १ बजेका लागि तय गरिएको बैठक करिब दुई घण्टा ढिलो सुरु भएको थियो। बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै नाराबाजी गरेका थिए।

विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको भूमि मिचेको” भन्ने अभिव्यक्ति सच्याउनुपर्ने, संसद्मा स्पष्टिकरण दिनुपर्ने तथा माफी माग्नुपर्ने माग राखेका छन्।

माग सम्बोधन नभएको भन्दै विपक्षी सांसदहरू संसद्को वेलमा पुगेर घेराउ र नाराबाजीमा उत्रिएपछि बैठकको कारबाही प्रभावित भएको थियो।

सांसदहरूको विरोध जारी रहेपछि सभामुख अर्यालले बैठक सञ्चालनको वातावरण नबनेको भन्दै बैठक स्थगित भएको सूचना सुनाएका थिए।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपाल–भारत सीमा सम्बन्धी उक्त अभिव्यक्ति दिएका थिए। त्यसयता उक्त विषयलाई लिएर संसद्का दुवै सदनमा विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्।


Published :जेष्ठ १९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media