
काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दै छ । समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई २–० गोलले पराजित गरेको थियो । नेपालको जितमा रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा र कप्तान रेनुका नगरकोटीले खेलको ६० औँ मिनेटमा गोल गरे ।
यसअघि समूहको पहिलो खेलमा भुटानलाई १–० गोलले हराएको नेपाल दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहन सफल भएको हो । समूह ‘ए’ मा नेपालसँगै भुटान र श्रीलंका रहेका थिए । यस्तै समूह ‘बी’ मा आयोजक भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् । प्रतियोगिताको नियमअनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुगेका हुन् ।
साफ महिला च्याम्पियनसिपको इतिहासमा पटक-पटक फाइनल पुगेर पनि नेपालले हालसम्म उपाधि चुम्न सकेको छैन । यसपटक ऐतिहासिक उपाधि जित्ने स्पष्ट लक्ष्यका साथ नेपाली टोली गोवा प्रस्थान गरेको हो ।
नेपाल र बंगलादेशबीचको यो कडा प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण ‘डीजीओ’ एपमार्फत हेर्न सकिने एन्फाले जनाएको छ ।